हेटौँडा:हेटौँडा बजार क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ विस्तारका लागि सडक सिमानाभित्रका घरहरू भत्काइए पनि निर्माण कार्य अझै अन्योलमै परेको छ।
सडक डिभिजन कार्यालयले संरचना हटाएपछि बजार क्षेत्र महिनौँदेखि अस्तव्यस्त बनेको छ। तर, राजमार्ग बजारभित्रै विस्तार गर्ने कि बाइपासमार्फत लैजाने भन्ने विषयमा निर्णय नहुँदा स्थानीयवासी अन्योलमा परेका छन्।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढ्ने पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई चार लेनमा विस्तार गर्ने योजना रहेको छ। करिब १०० किलोमिटर लामो यस परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक भइसकेको छ भने छिट्टै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ।
यसपटक ठेकेदार छनोटमा ‘क्वालिटी एण्ड कस्ट बेस्ड सेलेक्सन’ प्रणाली लागू गरिनेछ, जसमा ८० प्रतिशत प्राविधिक मूल्यांकन र २० प्रतिशत लागतलाई आधार बनाइनेछ।
परियोजनाको कुल लागत करिब ५४ अर्ब रुपैयाँ रहेको छ। एडीबीले ३०५ मिलियन डलर सहयोग गर्नेछ, जसमा सस्तो ब्याजदरमा ऋण र केही अनुदानसमेत समावेश छ।
वातावरणीय रूपमा संवेदनशील क्षेत्रमा पर्ने भएकाले यो सडक नेपालकै पहिलो ‘वन्यजन्तुमैत्री’ सडक बन्ने अपेक्षा गरिएको छ। यस अन्तर्गत भायाडक्ट, वन्यजन्तु क्रसिङ र क्यानोपी ब्रिज निर्माण गरिनेछ।
यद्यपि, हेटौँडा बजार क्षेत्रको विस्तारबारे अन्तिम निर्णय अझै नभएकोले स्थानीयले चाँडो स्पष्टता दिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस् :