मकवानपुरको महोत्सवमा सुरक्षा कडाइ : कलाकारमाथि बोतल र ढुङ्गा प्रहार गर्ने युवक पक्राउ
हेटौंडा । मकवानपुरमा सञ्चालन भइरहेको महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले कलाकारमाथि बियरको बोतल तथा ढुङ्गा प्रहार गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ।
चैत १३ गते आयोजित चर्चित गायक St. Man को कन्सर्टका क्रममा एक युवकले स्टेजतर्फ बियरको बोतल प्रहार गरेको घटना सार्वजनिक भएको थियो। उक्त घटनापछि आयोजक र प्रहरीको समन्वयमा सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भोलनले आफूलाई कलाकार मन नपरेको कारण आवेगमा आएर बियरको बोतल तथा ढुङ्गा प्रहार गरेको बयान दिएका छन्।
घटनापछि महोत्सव स्थलमा थप सुरक्षा सतर्कता अपनाइएको छ भने यस्ता अवाञ्छित गतिविधि दोहोरिन नदिन प्रशासनले कडाइ गर्ने जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।













