मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत
हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३५ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मकवानपुर–१ मा २३ उम्मेदवारमध्ये १८ जनाको धरौटी जफत भएको छ। धरौटी जफत हुने उम्मेदवारमध्ये २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित निवर्तमान सांसद तथा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह पनि परेका छन्। यस पटकको निर्वाचनमा उनले जम्मा चार हजार ५७४ मत मात्र प्राप्त गरेका छन्।
२०७९ सालमा भने सिंहले २७ हजार ८१६ मत ल्याएर विजय हासिल गरेका थिए। उनले त्यसबेला कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई दुई हजार ३८२ मतान्तरले पराजित गरेका थिए। उक्त निर्वाचनमा डिनाले २५ हजार ४३४ मत प्राप्त गर्दा एमालेको सूर्य चिह्न लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत पाएका थिए।
मकवानपुर–१ मा खसेको ९५ हजार ३१० मतमध्ये चार हजार ५८५ मत बदर हुँदा ९० हजार ७२५ मत सदर भएको थियो। जमानत जोगाउन कम्तीमा ९ हजार ७३ मत आवश्यक पर्नेमा सिंहले पाँच हजार मतसमेत कटाउन सकेनन्।
दीपकबहादुर सिंहले यसअघि पनि विभिन्न निर्वाचन लड्दै आएका छन्। २०५४ सालमा हेटौँडा नगरपालिकाको मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएका उनी एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका सिंह एमालेका विरोध खतिवडासँग पराजित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा पनि मकवानपुर–३ बाट उम्मेदवारी दिएका सिंह एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भएका थिए।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि सिंहले हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए तर सफल हुन सकेनन्। त्यसै वर्ष मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका सिंह अघिल्लो निर्वाचनको जनमतका आधारमा पुनः जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका थिए। तर, देशभर बढेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको लहरको प्रभावले यस पटक अपेक्षित परिणाम आउन नसकेको राप्रपा मकवानपुरको निष्कर्ष छ।
यता मकवानपुर–२ मा २१ उम्मेदवारमध्ये १७ जनाको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेकोमा ८५ हजार ६१९ मत सदर र पाँच हजार ६२२ मत बदर भएको थियो। यस क्षेत्रमा धरौटी जोगाउनका लागि कम्तीमा आठ हजार ५६१ मत आवश्यक थियो।
निर्वाचन परिणामअनुसार दुवै क्षेत्रमा धेरै उम्मेदवारले सदर मतको १० प्रतिशत मतसमेत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।









