मकवानपुरमा करिब ६० प्रतिशत मत खसेको अनुमान
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा करिब ६० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मतदानको समय सीमा ५ बजेसम्म रहेको र सबै मतदान केन्द्रको मत जोड्ने काम भइरुहेकाले केही समयपछी यसको यथार्थ तथ्याङक आउने छ ।
‘हामी तथ्यांक संकलन गरिरहेका छौं । तर, ६० प्रतिशत मतदान भएको हाम्रो सुरक्षा निकायले तथ्यांक सकंलन गरेका छन्,’ उनले भने ।
२ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । ३७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अब क्रमशः मतपेटिका संकलन कार्य सुरु हुनेछ ।
‘मतपेटिका संकलनपश्चात सर्वदलीय सहमतिपछि हामी मतगणना प्रक्रिया अगाडि बढाउने छौं,’ ढकालले भने ।







