मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

मकवानपुर खबर संवाददाता
१९ फाल्गुन २०८२, मंगलवार ०४:०३

Spread the love

हेटौंडा: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणनास्थल तय गरिएको छ। मकवानपुर जिल्लाको मतगणना यसपटक हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय को भवनमा गरिने भएको छ।

अघिल्लो निर्वाचनमा मतगणना सिद्धार्थ माध्यमिक विद्यालय मा गरिएको थियो। यस वर्ष भने स्थान परिवर्तन गरी भूटनदेवी माविमा मतगणना गर्ने निर्णय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना विद्यालयको प्रशासनिक तथा पुरानो भवनमा हुनेछ भने क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवनमा गरिने जनाइएको छ। मतगणनाको मिति र समय भने मतपेटिका प्राप्त भएपछि औपचारिक रूपमा प्रकाशन गरिने बताइएको छ।

निर्वाचनपश्चात ल्याइने मतपेटिका सुरक्षित राख्न कोठा व्यवस्थापन, तारजाली जडान तथा सिसिटिभी क्यामेरा जडानको काम सम्पन्न भइसकेको छ। निर्वाचन आयोग बागमती प्रदेश कार्यालय का प्रमुख हरि ढकालका अनुसार मतगणना प्रक्रिया पारदर्शी र सुरक्षित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका सम्बन्धित स्थलमा ल्याई सुरक्षित रूपमा राखिने र त्यसपछि मात्र मतगणना प्रक्रिया सुरु गरिने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*