बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने

मकवानपुर खबर संवाददाता
१३ चैत्र २०८२, शुक्रबार ०४:०४

Spread the love

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार शपथअघि नै राष्ट्रपति रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ। शाहले दिउँसो १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। उनीसँगै आजै मन्त्रीहरूले पनि शपथ लिनेछन्।

रास्वपाले प्रारम्भिक चरणमा प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने योजना बनाएको छ। मन्त्रिपरिषद्मा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

पार्टी स्रोतका अनुसार केही मन्त्रालयहरू समायोजन गर्ने तयारी पनि भइरहेको छ। पर्यटन र उद्योग मन्त्रालय एउटै मन्त्रीलाई दिने तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय एउटै व्यक्तिले सम्हाल्ने विषयमा छलफल जारी छ।

मन्त्री चयन र सरकारका प्राथमिकताबारे सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच निरन्तर छलफल भइरहेको छ। यद्यपि सम्भावित मन्त्रीहरूको अन्तिम सूची सार्वजनिक गरिएको छैन।

मन्त्री बन्ने सम्भावित नामहरूमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल र सस्मित पोखरेल लगायतका नाम चर्चामा रहेका छन्।

स्रोतका अनुसार वाग्ले अर्थमन्त्री र खनाल परराष्ट्रमन्त्री बन्ने सम्भावना बलियो छ। लम्सालले गृह वा भौतिक पूर्वाधारमध्ये एक मन्त्रालय सम्हाल्ने चर्चा छ। साथै, आन्दोलनबाट आएका सुधन गुरुङलाई पनि मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ।

प्रत्यक्ष निर्वाचनबाट दुई पटक निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय दिने तयारी छ भने समानुपातिकबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्री बनाउनेबारे छलफल भइरहेको छ।

त्यस्तै, कांग्रेस सभापति गगन थापा लाई पराजित गरेका अमरेशकुमार सिंहलाई पनि मन्त्री बनाउने विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् टुंग्याउन आज बिहान ७ बजे सभापति लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच महत्वपूर्ण बैठक बस्ने तय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*