हेटौँडामा घुस प्रकरण : यातायात कार्यालयका अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटौँडामा घुस प्रकरण : यातायात कार्यालयका अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सवारी साधनको सरुवा सहमति बनाइदिने बहानामा सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया पौडेलले सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र बिचौलिया पौडेलबीच आपसी मिलेमतो तथा पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ।
यस घटनाले सार्वजनिक सेवा प्रवाहमा हुने अनियमितता र बिचौलियाको सक्रियतालाई फेरि एकपटक उजागर गरेको छ। अख्तियारले यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही जारी रहने जनाएको छ।













