मकवानपुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर को कडा एक्सन: ५ दिनमै ७ फरार अभियुक्त पक्राउ
हेटौँडा — मकवानपुरमा अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले कडा एक्सन थालेको छ। प्रहरीले पछिल्लो पाँच दिनको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ७ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको विशेष टोलीले विभिन्न जिल्लामा ठगी तथा बैंकिङ कसुरमा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई मकवानपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीले अपराधीहरू मकवानपुरलाई सुरक्षित लुक्ने स्थानका रूपमा प्रयोग गर्न थालेपछि निगरानी अझ कडा बनाइएको जनाएको छ।
यस कडा एक्सन अन्तर्गत वैदेशिक रोजगार ठगीमा संलग्न एक महिलालाई समेत पक्राउ गरिएको छ। धनसानी गोले नामकी ३७ वर्षीया महिलाले ‘क्यानडा पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध जारी पक्राउ पुर्जीअनुसार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाउने तयारी भइरहेको छ।
त्यस्तै, बैंकिङ कसुरमा फरार रहेका अन्य अभियुक्तहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौँडा–८ बस्ने ५६ वर्षीय चन्द्रबहादुर अधिकारीलाई पक्राउ गरी प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको छ। साथै भीमफेदी–८ का रन्जन कठायत, झापाका विष्णुप्रसाद चुडाल र अमरकुमार थापालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका सबै अभियुक्तलाई सम्बन्धित जिल्ला पठाएर कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा एसपी खत्रीले अपराध नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।
उनका अनुसार पछिल्लो समय मकवानपुर फरार अभियुक्तहरूको लुक्ने केन्द्र बन्न थालेको देखिएकाले प्रहरीको विशेष निगरानी अभियान सञ्चालन गरिएको छ। यस अभियान अन्तर्गत सघन चेकजाँच, गस्ती र सूचनाको आधारमा खोजी कार्य तीव्र बनाइएको छ।
प्रहरीले सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेको छ। विशेषगरी वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन आधिकारिक प्रक्रिया अपनाउन, प्रमाणित म्यानपावर कम्पनीमार्फत मात्रै विदेश जान र आकर्षक प्रलोभनमा नपर्न सुझाव दिइएको छ।
साथै, ठगीमा परेका वा शंका लागेका घटनाबारे तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै प्रहरीले नागरिक–प्रहरी सहकार्यले मात्र अपराध नियन्त्रण सम्भव हुने उल्लेख गरेको छ।











