मकवानपुरमा ३ किलोभन्दा बढी अफिमजस्तो पदार्थसहित एक जना पक्राउ
हेटौंडा । मकवानपुर जिल्ला को मनहरी क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
मिति २०८२ चैत ५ गते दिउँसो करिब २:३० बजे इलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मनहरी गाउँपालिका–७ स्थित मनकामना सामुदायिक वन क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ रुपाचुरी बस्ने ३२ वर्षीय देबचन्द्र घलान रहेका छन्। प्रहरीका अनुसार उनलाई खानतलासी गर्दा उनको साथबाट तीन वटा पोकामा राखिएको लागूऔषध अफिमजस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको उक्त पदार्थको तौल गर्दा जम्मा ३ किलो ४७८ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त लागूऔषध बरामद गरी घलानलाई नियन्त्रणमा लिएको छ। उनलाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालत बाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी ले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











